व्यवसायीक खेती सुरु गर्दा मुद्धा खेप्ने किसान

व्यवसायीकरुपमा कृषि पेशा सुरु गर्ने किसानले राज्यबाट कस्तो मान सम्मान वा पुरस्कार पाउलान् ? उत्तर सहज छ । प्रशस्त आर्थिक–भौतिक पुरस्कार वा सम्मान । तर, व्यवसायीक कृषि पेशा सुरु गर्दा खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईले राज्यबाट पुरस्कार स्वरुप ‘राजाकाजी’ मुद्धा खेपे । कुरा करिब सात दशक अघिको हो । ६ महिना बाँझो रहने आफ्नो जग्गामा बि.सं. २००२ सालताका व्यवसायीरुपमा अलैंची, फलफुल, चिया, तरकारी खेती र माछा पालन गरेको अभियोगमा तत्कालिन राणा शासकले उनीमाथि राजाकाजी मुद्धा चलाएका थिए । परिवारलाई आर्थिकरुपमा आत्मनिर्भर बन्न र अरुलाई बनाउनकालागि पहिलोपल्ट आधुनिक शैलीबाट खेती सुरुवात गरेकै आधारमा पर्खनबहादुर बिरुद्ध ‘राजा की रैती हुन्’ भन्ने तीन किसिमको मुद्धा परेको थियो । खोटाङमा पहिलोपल्ट अलैँची रोपेकामा, माछा पालन गरेकामा र चिया खेती लगाएकामा राईमाथि राजाकाजी मुद्धा परेको छोरा ध्यानबहादुर बताउँछन् । 
भोजपुर गोस्वाराका तत्कालिन बडाहाकिम भक्तबहादुर खड्काले पर्खनबहादुरलाई सात दिनभित्रमा उपस्थित हुन पक्राउ पुर्जी पठाएका थिए  । बडाहाकिमले आगामी दिनमा अलैंची र चिया खेती नलगाउने र माछा पोखरी भत्काउने शर्तमा उनलाई दुई÷तीन हप्तापछि छाडेको थियो । अड्डाबाट मुक्त भएपनि राई आफ्नो घरको दर्जन झ्यालढोका टाल्नसम्म बाध्य भएका थिए । 
देशमा राणा शासन थियो । जमना लेखपढ गर्ने थिएन । अधिकांश सर्वसाधारण परिवार चरम गरिबीको मारमा थिए । भएका जायजेठामा उन्नत तरिकाले खेती गरेर आर्थिक उन्नती गर्न सकिनेसम्म चेत थिएन । व्यवसायीकरुपमा खेतीपाती गर्ने कोही थिएनन् । अर्कातर्फ सर्वसाधारणको हैसियतमा अलैंची, चिया रोप्न र माछा पाल्न बन्देज थियो । त्यस्तो जटिल समयमा पर्खनबहादुरले कृषि पेशालाई व्यवसायीकरुपमा सुरु गर्ने हिम्मत गरेका थिए । खेतीकिसानीबाट पनि संबृद्धि प्राप्त गर्न सकिने देखाउनकै लागि उनी आफ्नै माटोमा ‘केही गर्ने’ भन्ने अठोटका साथ अघि बढेका थिए । जिल्लामा पहिलोपल्ट अलैँची, चिया, बिभिन्न प्रजातीका फूल खेती तथा माछा पालन गरेर उनले प्रसिद्धि कमाएका हुन् । 
परम्परा खेती पद्धतिलाई बदल्ने संकल्पकासाथ नयाँ जोस र उत्साहकासाथ पर्खनबहादुरले भोजपुरको स¥याङ र जिल्लाकै बुईपाबाट अलैंचीका बेर्ना ल्याएर आफ्नो सिमसारमा लगाए । नुनथलाको खाम्लाबाट अम्लिसोको थप बिरुवा संकल गरेर रोपे । चियाको बिरुवा ल्याएर हुर्काए । पोखरी बनाएर माछा पालन सुरु गरेका थिए । 
केही समयपछि देशमा प्रजातन्त्र आयो । उनको दिनरात बिभिन्न थरिका बोटबिरुवा रोप्ने र तिनै बोटबिरुवा गोडमेलमै बित्न थाले । सिंगो जवानी अलैंची, सुन्तला, नासपाती, आरु, चिया, हलुवाबेदजस्ता फलफूल रोप्न र स्याहार सुसारमै बिताए । पशुपालनकालागि आवश्यक घाँस जुटाउन ध्वतीसरा, निभारो, अम्लिसो, नेपिएर जातको घाँस संकलन गरेर घरवरपरका खाली हराभरा बनाए । तिनै अलैंची र फुलफूलबाट आउने आम्दानीले परिवारको जीवन सहजरुपमा चल्न थाल्यो । रातका समयमा लाल्टीन बालेर कुलो खनेको, बगैँचा हेरचाह गर्ने गरेको, कोदो, मकै गोडमेल गर्ने पर्खनबहादुरको जाँगरको विषयमा अहिले पनि चर्चा र प्रशंसा हुने गरेको छ । घरमा पुग्ने जो कोहीलाई कृषिप्रति उत्प्रेरित गर्ने राईको प्रसिद्धि जिल्ला बाहेक भोजपुर, उदयपुर, सोलुखुम्बु लगायतभर फैलिदै गए । पहिलोपल्ट अलैंचीको व्यवसायीक खेती सुरु गरेकै कारण उनलाई ‘अलैंचीका पिता’कारुपमा सम्मान गर्न थालियो । उनकै कारण हाल बाँझेच्यानडाँडाको मबु कृषि र अलैंची उत्पादनकालागि प्रसिद्ध छ । कतिपय किसानले पर्खनबहादुरकै सिको गर्दै व्यवसायीक कृषि पेशा अपनाउन थालेको स्थानीय चक्र फुयाँलले बताए । ‘आफ्नै जग्गामा श्रम गर्न सिकाए, पसिना बगाउन सिकाए,’ बास्तोलाले भने, ‘बाँच्नकालागि आफ्नै माटो उर्बर रहेको प्रमाणित गरेर हामीलाई देखाइदिए ।’ उनको श्रमले सिर्जना भएका बगानलाई छोरा र नातीले संरक्षण दिइरहेका छन् । 
कृषि व्यवसायप्रतिको मेहनतकै कारण उनले नेपाल सरकारबाट २०४४ सालमा चितवन, पोखरा, जनकपुर, हेटौडा, बीरगञ्जलगायतका ठाउँमा कृषि राष्ट्रिय भ्रमण गर्ने अवशर पाएका थिए । त्यस लगत्तैको जापान, थाईल्यान्ड र भारत भ्रमण भने श्रीमती पञ्चहिराको मृत्युका कारण छुटाएका थिए । 
खोटाङ, भोजपुर, उदयपुर र सोलुखुम्बु क्षेत्रमा उन्नतखेती गर्न र गराउन अग्रणी भुमीका खेलेको भन्दै पर्खनबहादुरलाई खोटाङ सेवा समाज काठमाडौंले २०६४ सालमा नमूना र सफल कृषककारुप अभिनन्दन, २०६३ सालमा कृषि तथा सहकारी मन्त्रालयले नेपालकै अलैंचीका पिताकारुपमा पुरस्कृत तथा २०६५ मा जिल्ला बिकास समिति खोटाङले नमूना र अगुवा कृषककोरुपमा अभिनन्दन गरेको थियो । 
नेपालकै अलैंचीका पिताकारुपमा पुरस्कृत तिनै पर्खनबहादुरको शनिबार ९१ वर्षको उमेरमा निधन भएको छ । बुबा अम्बरबहादुर राई र आमा जमुना राईको कोखबाट १९८२ साल कार्तिक १३ गते जन्मिएका पर्खनबहादुरको आईतबार दाहसंस्कार गरिएको नाती संग्राम राईले बताए । पर्खनबहादुर नौ दिदीका एक्लो भाई हुन् । 
 

http://rupakotradio.org.np/