समयमै योजना पूरा गर्न ‘योजना सम्झौता अभियान’

खोटाङ, समयमै सम्झौता गरेर समयमै योजना पूरा गर्नकालागि खोटाङमा ‘योजना सम्झौता अभियान’ सुरु गरिएको छ । आर्थिक वर्षको अन्त्यातिर योजनाको सम्झौता गर्ने प्रचलनले अधिकांश योजनाहरु अधुरै रहने, गुणस्तरहिन काम हुने गरेको तथा सोको कारण जिल्लाको बजेट फ्रिज भएर जाने समस्या हल गर्नकालागि जिल्ला बिकास समितिले बुधबारदेखि एक महिने योजना सम्झौता अभियान सुरु गरेको हो । गत वर्ष सञ्चालन गरिएको योजना सम्झौता अभियानले बिभिन्न बिकासे योजना सञ्चालन र बजेट सदुपयोगका विषयमा उत्कृष्ट नतिजा आएपछि यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । योजना सम्झौतामा गरिने ढिलाई र निर्माणका काममा हुने अधुरोपनाका कारण जिल्लाबाट बजेट फिर्ता भइरहेकाले त्यसलाई रोक्नकालागि ‘बिकासमा हाम्रो प्रतिबद्धताः समयमै योजना सम्झौता’ भन्ने नारासहित योजना सम्झौता अभियानलाई दोश्रो वर्ष पनि निरन्तरता दिइएको हो । मंसिरभर उपभोक्ता समितिसँग सबै योजनाको सम्झौता गर्ने र योजनाको कामलाई तिब्र गतिमा अघि बढाइने जिबिसले जनाएको छ । बेलैमा योजना सम्झौता गर्न र योजना पूरा गर्नकालागि उपभोक्ता समितिलाई प्रोत्साहित गर्नकालागि अभियान थालिएको स्थानीय बिकास अधिकारी पाण्डेले जनाए । 
हरेक योजना तथा कार्यक्रमलाई गुणस्तरियढंगले समयमै पूरा गर्न, जिल्लामा आएको बजेटलाई यही ठाउँमा सदुपयोग गर्दै फ्रिज हुने समस्यलाई न्यूनीकरण गर्न, पुँजीगत खर्चमा बृद्धि गर्न, अनुगमन तथा मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन, पारदर्शितालाई प्रबद्र्धन गर्दै जिल्लालाई संबृद्ध बनाउनकालागि जिबिसले गत वर्ष सिर्जनात्मक उपाय अपनाएर योजना सम्झौता अभियान सञ्चालन गरेको थियो । ‘गत वर्षको योजना सम्झौता अभियानले जिल्लाले उत्साहजनक नतिजा प्राप्त गरेको छ, यसबाट हामी उत्साहित छौँ,’ स्थानीय बिकास अधिकारी पाण्डेले भने, ‘आर्थिक वर्षको अन्तिममा सम्झौता गर्दा काम अधुरो रहने र बजेट फिर्ता जाने हुनाले आर्थिक वर्षको सुरुमै सम्झौता गरेर समयमै काम पूरा गर्ने उत्प्रेरणाकालागि अभियानलाई निरन्तरता दिइएको हो ।’ बेलामा गरिने सम्झौता र कामले मात्र संबृद्ध खोटाङ निर्माण हुने भन्दै जिबिसले सम्झौता अभियानमा सहभागीताकालागि सबैलाई आग्रह गरेको छ । 
 

http://rupakotradio.org.np/