कृषि उपजको ठाउँमा चप्पलदेखि कपडासम्म

फलफुल तथा तरकारी बिक्री केन्द्रमा के–के किन्न पाईएलान् ? उत्तर सहज छ,–थरिथरिका फलफुल । थरिथरिका तरकारी । तर, खोटाङ सदरमुकाम दिक्तेल र सछितापोखरीको पञ्चमीबजारमा लाग्ने साप्ताहिक हाटमा कृषककालागि निर्माण गरिएको फलफुल तथा तरकारी बिक्री केन्द्रमा भने जुत्ता, चप्पल र कपडा राख्ने गरिएको छ । जुत्ता, चप्पल र कपडा व्यवसायीले फलफुल तथा तरकारी बिक्री केन्द्रको छाप्रामा बसेर पशल सञ्चालन गरेपछि तरकारी र फलफुल बिक्रेता भने सडकको डिल, कुना, बिक्री केन्द्रको वरपर, पाखा र बाटोको दायाँ–बायाँ बसेर फलफुल तथा तरकारी बिक्री गर्न बाध्य छन् । गाउँबाट ढाकर बोकेर हटियामा आइपुग्ने तरकारी तथा फलफुल व्यवसायी वर्षाको समयमा हिलो र झरीको सामना गर्दै फलफुल र तरकारी बिक्री गर्न बाध्य छन् भने हिउँदको समयमा धुलोमैलो झेलेर कृषि उपज बिक्री गर्न बाध्य छन् । जिल्लाको प्रमुख व्यपारिक केन्द्रकारुपमा रहेको दिक्तेलको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५÷१५ दिनमा हटिया लाग्ने गरेको छ । 
ग्रामिण पहुँच कार्यक्रम (¥याप)ले २०६९ सालमा निर्माण गरेको बिक्री केन्द्रमा फलफुल तथा तरकारी बाहेकका थोकबस्तु राख्न नदिने नगरपालिका र बजार व्यवस्थापन समितिको प्रयास हालसम्म सफल हुन सकेको छैन । बिक्री केन्द्रमा कृषि उपज राख्ने स्थान नपाउने समस्याका कारण कतिपय किसानले सोझै बजारका होटल तथा व्यक्तीगत तरकारी पशलमा लगेर सामान बिक्री गर्न बाध्य छन् । बिक्री केन्द्रमा राखेर सामान बिक्री गर्न नपाउँदा कम मूल्यामा फलफुल र तरकारी बिक्री गर्न बाध्य बनेको किसानको गुनासो छ । हाट कर भने बिक्री केन्द्र र बाहिर बसेर बिक्री गर्नेले बराबर तिर्नु पर्छ । 
किसानका नाममा बनाइएको पक्की छाप्रामा बसेर नजिकका व्यवसायीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्दा गाउँबाट आउने किसान मारमा परिरहेको खाल्लेका स्थानीय नेत्रबहादुर कटवालले बताए । ‘बिक्री केन्द्र जुत्ता, चप्पल र कपडाले भरिएपछि किसान भने बाहिर बसेर सामान बिक्री गर्न बाध्य छन्,’ कट्वालले भने, ‘फलफुल तथा तरकारी बिक्री केन्द्रमा अन्य सामान राख्न नदिनकालागि पटक–पटक आवाज उठाउँदा पनि हाम्रो माग सुनुवाई भएन ।’ अव्यवस्थित हटियाका कारण फलफुल र तरकारीका बिचौलिया समेत मौलाएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । 
जिल्लाको अर्थोपार्जन र बिनीमयको प्रमुख माध्ययम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री बितरण गर्ने व्यवस्थाकालागि दिक्तेलको हाटडाँडामा ७० लाख र पञ्चमीबजार ३० लाखको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला निर्माण गरिएको थियो । 
 

 

http://rupakotradio.org.np/