भवन वितरणमा दलीय भागबण्डा, पहुँच नहुने विद्यालयमा खुला आकाशमुनी पठनपाठन

केदार मगर÷खोटाङ, २
दलीय भागबण्डामा भवन वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय नयाँ भवन पाउनबाट वञ्चित भएका छन् । भागवण्डामा गरिने वितरणले उत्तरी गाविस जलेश्वरी–३ स्थित जनकल्याण प्रावि आवश्यक भवन पाउनबाट वञ्चित भएको छ । 
आवश्यकतालाई भन्दा पनि दलका नेताको मनोमानी सिफारिसमा भवन वितरण गर्ने परिपाटीले आफ्नो विद्यालयले भवन नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । भूकम्पको क्षति र आवश्यकताका आधारमा गत वर्ष भवन पाउनुपर्ने विद्यालय यसपल्ट पनि वञ्चित भएको अध्यक्ष राई भनाइ छ । 
२०७२ साल वैशाख १२, १३ र २९ गतेको भूकम्प र त्यसका पराकम्पनका कारण भवन भत्किएपछि हाल जनकल्याण प्राविले खुला चौरमा पठनपाठन सञ्चालन गर्दै आएको छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा हाल २९ जना विद्यार्थी अध्ययनरत छन् । 
भत्किएका विद्यालयको भवनको भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषमा झारपात उम्रिएको छ । जिल्ला शिक्षा कार्यालयमा भत्किएको भवनको फोटोसहित निवेदन दिएपनि भवन प्राप्त नभएकोे प्रधानाध्यपक खिनामायाँ बिसीले बताउनुभयो । 
भूकम्पका कारण भत्किएको भवन आफै निर्माण गर्ने क्षमता नभएका कारण अभिभावक सहयोगको पर्खाइमा बसेका छन् । भूकम्पले भवन भत्किएपछि कतिपय विद्यार्थीलाई खुला चौंर तथा कतिपय विद्यार्थीलाई बाँसको चित्राले बारेर बनाइएको छाप्रोमा राखेर पठन–पाठन गरिँदै आएको विद्यालयले जनाएको छ । 
एकै ठाउँमा खुला चौंरमा तथा साँघुरो ठाउँमा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दा होहल्ला र पठनपाठनमा समस्या भइरहेको प्रअ बिसीले जानकारी दिनुभयो । जाडोका समयमा खुला चौंरमा गरिने पठनपाठनले विद्यार्थी काम्दै लेखपढ गर्न बाध्य छन् । 
श्रोतव्यक्ति र शिक्षा कार्यालयले भवन पाउने विद्यालयको सूचीको पहिलो नम्बरमा जनकल्याण प्राविको नाम उल्लेख गरेको भएपनि हालसम्म कार्यान्वयन हुन नसकेको अभिभावकको गुनासो छ । विद्यालयले भूकम्पपछि प्राप्त भएको त्रिपाल टाँगेर अस्थायी रुपमा कक्षा चलाएका थिए तर, त्रिपाल फाटेपछि विद्यार्थीलाई खुला चौंरमा राख्नु परेको हो । 
भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि केही दिनअघि दलका नेताको सहभागितामा शिक्षाले प्रभावित विद्यालय छनौट गरेको छ । तर, भवन पाउने प्रभावितको सूचीमा जनकल्याण प्रावि परेको छैन । 
जिल्लाका दलले पुस ११ गते विद्यालय छनौट गरेर दोश्रो दिन शिक्षा कार्यालयलाई नामावली बुझाइएका थिए । “हामीले गत वर्ष नै भवन पाउनुपर्ने हो, पाइएन । यसपल्ट त पाइएला भनेको यसपल्ट पनि पाइएन” प्रअ बिसीले भन्नुभयो, “भागबण्डा गर्नेक्रममा यसवर्ष पनि भवन दिइएनछ । हामीलाई विभेद र अन्याय गरियो ।”
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालका अनुसार दुई कोठे ३ वटा, तीन कोठे ४ वटा र चार कोठे २ वटा भवन पाउने विद्यालय छनौट गरेर शिक्षा विभाग समक्ष सिफारिस गरिएको छ । जिल्लामा दलका नेताको सहभागितामा उनीहरुले भने अनुसार शिक्षाले भवन वितरण गर्दै आएको छ । 
 

http://rupakotradio.org.np/