सिकाइ उपलब्धी नगराउने शिक्षकलाई अन्यत्र सरुवा गरिने

केदार मगर÷खोटाङ, पुस । सिकाइ उपलब्धी नगराउने खोटाङको सामुदायिक विद्यालयका शिक्षकलाई अयोग्य ठहर गर्दै अन्यत्र सरुवा गर्ने निर्णय गरिएको छ । शैक्षिक गुणस्तरमा खोटाङ मुलुकमै कमजोर सावित भएपछि सुधार गर्ने अभियान अन्तरगत यस्तो निर्णय गरिएको हो । 
शिक्षकको शिक्षण क्षमता विकासका लागि विभिन्न सन्दर्भ स्रोतका सामग्री खरिद गर्ने, तालिम दिलाउने र त्यसपछि पनि विद्यार्थीमा सिकाइ उपलब्धी नभए त्यस्ता शिक्षकलाई अयोग्य ठहर गर्दै अन्यत्र सरुवा गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । उपलब्धि मापनका लागि जिल्ला शिक्षा कार्यालयले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई परीक्षा लिने तयारी गरेको छ । 
अभियान अन्तरगत सामुदायिक विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतका बालबच्चालाई अब निजी विद्यालयमा पढाउन नपाउने पनि निर्णय गरिएको छ । जिल्लास्थित राजनीतिक दल लगायत सरोकारवाला निकायको सहभागितामा बसेको बैठकले जिल्लाको शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला शिक्षा अधिकारी नेपाल खोटाङ आउनुभएलगत्तै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा कार्यालयले आह्वान गरेको प्रतिबद्धता सहितको प्रस्तावनाको आधारमा निवेदन दिने जिल्लाका विभिन्न ३० विद्यालय छनौट गरिएको छ । उक्त विद्यालयहरूमा पाठ्यक्रममा आधारित शिक्षण सिकाइ, पुस्तकालय व्यवस्थापन र शिक्षकलाई तालिमको व्यवस्था गरिने जिशिअ नेपालले बताउनुभयो ।  
पुस्तकालय व्यवस्थापनका लागि शिक्षाले छ लाख ५० हजार उपलब्ध गराउने जनाइएको छ । बैठकले भौतिक निर्माणमा भवन, सौचालय, मर्मत लगायतमा रकम निकासा गरेर काम नगर्ने र छात्रबृत्ति लगायतका विविध शीर्षकमा रकम निकासा गरेर दुरुपयोग गर्ने विद्यालयलाई कारबाही गर्ने समेत निर्णय गरिएको छ ।
निर्णयकै आधारमा शिक्षा कार्यालयबाट वितरण गरिएका आठ कोठे, छ कोठे र चार कोठे भवनको सम्झौता गरी पेश्की लिएर विद्यालय भवन नबनाउने जिल्लाका दश वटा विद्यालयलाई कार्यालयले ताकेता गरेको छ । एक साता भित्र काम नथाले सम्झौता भङ्ग गरेर अन्य विद्यालयलाई योजना दिने जानकारीसहित ताकेता पत्र लेखिएको जिशिअ नेपालले जानकारी दिनुभयो । 
जिशिअ नेपालका अनुसार एक वर्षअघि सम्झौता भएका दश विद्यालयले अझै भवन नबनाएकाले ताकेता गरिएको जनाइएको छ । गत वर्षको फागुनमा सम्झौता र आधा पेश्की रकम पनि लिइसकेकाले एक साताभित्र भवन नथाले सम्झौता भङ्ग गरेर अर्को विद्यालयलाई योजना दिने पत्राचार गरिएको जनाइएको छ । 
 

http://rupakotradio.org.np/