ऐतिहासिक नाम हटाएको भन्दै जेष्ठ नागरिक आन्दोलित

ऐतिहासिक नाम हटाएको भन्दै जेष्ठ नागरिक आन्दोलित
स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको भन्दै जिल्लाका जेष्ठ नागरिक आन्दोलित भएका छन् । परापूर्वकालदेखि परिचित दिक्तेलको नाम हटाएर पुनः संरचना गर्ने नाममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 
ऐतिहासिक तथा पुरानो नाम दिक्तेललाई समेटेर दिक्तेल मझुवागढी रुपाकोट तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाइनुपर्ने माग राख्दै उनीहरुले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् । नाराजुलुस सहित बजार परिक्रमा पछि आईतबार जिल्ला विकास समितिमा पुगेर ज्ञापन पत्र बुझाउँदै उनीहरुले आफ्नो माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
उनीहरुले प्राविधिक सहयोग समितिलाई बुझाएको ज्ञापन पत्र बोदार्थका रुपमा जिल्लास्थित सबै राजनीतिक दल तथा प्रमुख जिल्ला अधिकारीलाई समेत बुझाएको छ । राई जातिको मामालाई दिकु भनिने हँुदा ऐतिहासिक नामले परिचत दिक्तेलको नाम हटाउन नहुने बताएका छन् । 
हाल कार्यान्वयमा रहेको दिक्तेल नगररपालिका–२, कोलेबारीमा दिकुले तेल पेल्ने कोल रहेको र दिकुको तेलबाट दिक्तेल नाम रहन गएको आन्दोलनमा सहभागी जेष्ठ नागरिक दुर्गा घिमिरेले बताउनुभयो । “हामीले चेतावनी स्वरुप ज्ञापनपत्र बुझाएका हौं ।” उहाँले भन्नुभयो, “यदि माग पूरा नभए कडाभन्दा कडा आन्दोलन हुन्छ, त्यसबाट हुने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्छ ।”
 

http://rupakotradio.org.np/