दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुरु

दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुरु
केदार मगर÷खोटाङ, मङ्सिर । खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुरु भएको छ । दुबै जिल्लाका यातायात व्यवसायीको समन्वयमा पहिलोपल्ट दिक्तेल–भोजपुर सिधा यातायात सेवा सुरु गरिएको हो ।
दुई जिल्लाका व्यवसायीबीचमा दिक्तेलमा भएको छलफलपछि दिक्तेल–भोजपुर सिधा यातायात सेवा थालिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । दिक्तेल–भोजपुर यातायात सेवा सुरु भएपछि दिक्तेलबाट सिधै भोजपुर र भोजपुरबाट सिधै दिक्तेल ओहोरदोहोर गर्ने यात्रु लाभान्वित भएको सचिव हिङ्माङले जानकारी दिनुभयो । 
यसअघिसम्म दिक्तेलबाट चखेवाभञ्ज्याङसम्म ४८ किलोमिटर र भोजपुरबाट चखेवाभञ्ज्याङ ४४ किलोमिटर मात्र यातायात सेवा सञ्चालनमा रहेको थियो । दुबै सदरमुकामबाट दैनिक बिहान ७ः१५ बजे बस छुट्ने यातायात व्यवसायी सङघले जनाएको छ । 
खोटाङ–भोजपुर सिधा यातायात सेवा सुरु भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं आवतजावत गर्न छोटो बाटो खुलेको छ । करिब ९२ किलोमिटर लामो सडक मध्यपहाडी लोकमार्गमा पर्दछ ।
कच्ची अवस्थामा रहेको उक्त सडक दुई वर्षअघिदेखि कालोपत्रेको काम भइरहेको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो । 
 

http://rupakotradio.org.np/